चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ८७ हजार ०२८ मत गणना भएको थियो।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी मिना खरेल ले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि लामिछाने यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरसहित निर्वाचित भएका थिए। त्यसबेला उनका प्रमुख प्रतिस्पर्धी उमेश श्रेष्ठ थिए।
तर अमेरिकी नागरिकता लिएपछि पुनः नेपाली नागरिकता नलिएको विषयमा मुद्दा परेपछि लामिछानेले सांसद पद गुमाएका थिए। त्यसपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले पुनः उम्मेदवारी दिँदै अझ बढी मतसहित विजय हासिल गरेका थिए। उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत पाउँदा जितनारायण श्रेष्ठ ले ११ हजार २१४ मत मात्र प्राप्त गरेका थिए। त्यतिबेला उनीहरूबीचको मतान्तर ४२ हजार ९६२ रहेको थियो। सो उपनिर्वाचनमा रामप्रसाद न्यौपाने ले १० हजार ९३६ मत पाएका थिए।
यसपटकको निर्वाचन परिणाम अनुसार चितवन–२ मा अस्मिन घिमिरे (नेकपा एमाले) ले ६ हजार ९९२ मत प्राप्त गरेका छन् भने प्रताप गुरुङ (नेकपा) ले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।


