काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। गए रातिदेखि सुरु भएको मतगणनाअनुसार काठमाडौंमा रास्वपाको पक्षमा उल्लेखनीय लहर देखिएको छ।
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता कायम राखेकी छन्। उनले १० हजार ५८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन्। राप्रपाका रवीन्द्र मिश्र २ हजार ७४४ मतसहित तेस्रो स्थानमा छन्।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी अग्रस्थानमा छन्। उनले ४२४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मणिराम फुयालले २३६ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका कबिर शर्मा १८९ मत र राप्रपाकी कुन्तिदेवी पोखरेल ५७ मतसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे अग्रस्थानमा छन्। उनले ४ हजार ६४९ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३ हजार ३४१ मत पाएका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४८१ मत र नेकपा एमालेका रामेश्वर फुयालले ९४९ मत प्राप्त गरेका छन्।
काठमाडौं–४ मा रास्वपाका पुकार बमले ३ हजार ९२२ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९५ मत ल्याएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९५६ मत प्राप्त गरेका छन्।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३ हजार ७०० मतसहित अगाडि छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत ल्याएका छन् भने नेकपा एमालेका ईश्वर पोखरेलले ६९९ मत प्राप्त गरेका छन्।
काठमाडौं–६ मा रास्वपाका शिशिर खनालले ४ हजार ६५४ मतसहित स्पष्ट अग्रता लिएका छन्। अन्य दलका उम्मेदवारहरूले भने हालसम्म १ हजार मत पनि कटाउन सकेका छैनन्।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली ४ हजार ६७७ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले भने हालसम्म १ हजार मत नपुगेको छ।
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित विजय उन्मुख देखिएका छन्। अन्य प्रमुख दलका उम्मेदवारहरूले भने १ हजार मत कटाउन सकेका छैनन्।
काठमाडौं–९ मा रास्वपाका डिपी अर्याल १ हजार ५५२ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका नानु बास्तोला २६१ मत र नेकपा एमालेका अजयक्रान्ति शाक्य १५२ मतसहित पछ्याइरहेका छन्।
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्टले ५ हजार ७६५ मतसहित फराकिलो अग्रता लिएका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद श्रेष्ठले ७३१ मत ल्याएका छन्।
काठमाडौंका केही क्षेत्रमा मध्यरातदेखि मतगणना सुरु भएकाले आज साँझसम्म केही क्षेत्रको अन्तिम परिणाम आउने सम्भावना छ। अन्य क्षेत्रमा भने मतगणनाको नतिजा राति अबेर वा भोलि बिहानसम्म सार्वजनिक हुने अनुमान गरिएको छ।


