काठमाडौं। बालेन शाह सवार हेलिकोप्टर झापा जाने क्रममा बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले अहिले विभिन्न टिकाटिप्पणी र अड्कलबाजी जन्माएको छ।
बिहीबार काठमाडौंमा मतदान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाह आफ्नो निर्वाचन क्षेत्र झापा जाने तयारीमा हेलिकोप्टरमार्फत प्रस्थान गरेका थिए। तर उनी सवार हेलिकोप्टर झापामा अवतरण नगरी बीच बाटोबाटै काठमाडौं फर्किएको जानकारी आएको छ।
हेलिकोप्टर अचानक काठमाडौं फर्किएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। केहीले अनुमति नलिई उडान भरेको भन्दै प्रश्न उठाएका छन्।
यस विषयमा निर्वाचन आयोग नेपाल की सहायक प्रवक्ता सिता पुनले अनुमति नलिएको भन्ने कुरा गलत हल्ला मात्र भएको बताइन्।
उनले भनिन्, “हेलिकोप्टर किन फर्कियो भन्नेबारे आयोगलाई जानकारी हुँदैन, तर अनुमति नलिएको भन्ने कुरा हल्ला मात्र हो। बुधबार बालेन शाह स्वयं आयोगमा आएर अनुमति लिनुभएको थियो।”
हेलिकोप्टर किन बीच बाटोबाटै फर्कियो भन्नेबारे भने अहिलेसम्म आधिकारिक कारण खुल्न सकेको छैन। यसैबीच आयोगले विज्ञप्ति जारी गर्दै बालेन शाहले हेलिकोप्टर प्रयोगका लागि अनुमति लिएको स्पष्ट पारेको छ।
आयोगका अनुसार फागुन २१ गतेका लागि काठमाडौं–झापा उडानका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको थियो। आयोगले पठाएको पत्रमा सो रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न पाइने उल्लेख गरिएको छ।
साथै, हेलिकोप्टर प्रयोग गर्दा लाग्ने सम्पूर्ण खर्चको छुट्टै अभिलेख राख्नुपर्ने र आयोगले माग गरेमा सो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको बताइएको छ।


