Wednesday, April 15, 2026
Homeराजनीतिरौतहटमा शान्तिपूर्ण रूपमा मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

रौतहटमा शान्तिपूर्ण रूपमा मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

रौतहट । प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्र र मतदान स्थलमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो।

बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुग्न थालेका छन्। अधिकांश केन्द्रमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर कडा सुरक्षा व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी गरी करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षा रणनीतिअनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा जिम्मा सम्हालेका छन्।

निर्वाचन आयोगको निर्देशनअनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलालाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको छ। रौतहट जिल्लामा यसपटक कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन्।

प्रशासनले कुनै पनि भय वा त्रास बिना निर्धक्क भएर मतदानमा सहभागी हुन जिल्लावासीलाई आग्रह गरेको छ। मतदान कार्य आज बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका