काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि पूर्ण रूपमा बन्द हुने भएको छ। निर्वाचन आयोग नेपाल ले मतदान मितिभन्दा ४८ घण्टा अघिदेखि ‘प्रचारप्रसार निषेध अवधि’ लागू हुने जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज राति १२ बजेपछि कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले मत माग्ने, प्रचारप्रसार गर्ने वा निर्वाचनसँग सम्बन्धित सन्देश प्रवाह गर्न पाउने छैनन्। निर्वाचन आचारसंहिता, २०८२ मा यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण स्पष्ट रूपमा उल्लेख गरिएको छ।
गत फागुन ४ गतेदेखि सुरु भएको चुनावी प्रचार आज रातिसम्म जारी रहनेछ। त्यसपछि मतदातालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्णय गर्न वातावरण सिर्जना गर्न ‘मौन अवधि’ अनिवार्य गरिएको आयोगको भनाइ छ। यसले स्वच्छ र निष्पक्ष प्रतिस्पर्धालाई टेवा पुग्ने विश्वास गरिएको छ।
प्रचारप्रसारको अन्तिम दिन आज हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमा पर्व परेकाले चाडपर्वसँगै चुनावी गतिविधि पनि देखिएको छ। निर्वाचनमा सहभागी दल तथा उम्मेदवारहरू आज अन्तिम प्रचार अभियानमा व्यस्त छन्।
प्रचारप्रसार निषेध अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा पोष्ट वा शेयर, अनलाइन तथा छापा माध्यममार्फत कुनै पनि प्रकारको चुनावी सन्देश प्रसारण गर्न पाइने छैन। साथै, मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री आज राति १२ बजेसम्म हटाइसक्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य सम्पन्न नभएसम्म मतदाता, मतदान केन्द्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीलाई कुनै प्रकारले अवरोध पुर्याउन नपाइने आचारसंहितामा उल्लेख छ।
आयोगले संविधानले दिएको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण र समन्वयसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आचारसंहिताको इमान्दारीपूर्वक पालना भएमा निर्वाचनको निष्पक्षता र विश्वसनीयता थप मजबुत हुने आयोगको विश्वास छ।


