Saturday, May 9, 2026
Homeसामाचारमध्यपूर्व तनावप्रति रास्वपाको चिन्ता, नेपालीको सुरक्षामा सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह

मध्यपूर्व तनावप्रति रास्वपाको चिन्ता, नेपालीको सुरक्षामा सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको सैन्य तनाव, विशेषगरी इरान केन्द्रित विकसित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

शनिबार जारी विज्ञप्तिमार्फत रास्वपाले इरान र इजरायलसहित युएई, कतार र बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारलाई आग्रह गरेको हो। पछिल्ला घटनाक्रमका कारण ती मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्न सक्ने जोखिम रहेको भन्दै लाखौं नेपाली कामदारको जीवन, रोजगारी र सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि मध्यपूर्वमा विकसित भइरहेका परिस्थितिले नेपाली नागरिकलाई प्रत्यक्ष असर पार्न सक्ने सम्भावना रहेकाले सरकारले समयमै कूटनीतिक पहल, समन्वय र आवश्यक पूर्वतयारी गर्नुपर्छ। आकस्मिक अवस्था सिर्जना भएमा उद्धार, सम्पर्क र सहजीकरणका लागि स्पष्ट कार्ययोजना तयार राख्न पनि पार्टीले सुझाव दिएको छ।

रास्वपाले नेपाली नागरिकको सुरक्षा राज्यको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै कुनै पनि आपतकालीन परिस्थितिसँग जुध्न सरकार पूर्ण रूपमा तयार रहनुपर्नेमा जोड दिएको छ। साथै, आवश्यक परेमा सरकारलाई सबै प्रकारको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका