काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा लाई सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा हराउने प्रयास भएको दाबी गर्दै कांग्रेस नेता शेखर कोइराला सँग सम्बन्धित भनिएको एक अडियो सार्वजनिक भएको छ ।
मोरङ–६ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कोइरालाले सभापति थापालाई हराउन कांग्रेस कार्यकर्ता परिचालन गरेको आरोप लागेको छ । थापालाई पराजित गराई सर्लाही–४ का रास्वपा उम्मेदवार अमरेश कुमार सिंह लाई विजयी गराउने उद्देश्यले कोइरालाले आफ्ना स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत भूमिका खेलेको दाबी गरिएको छ ।
सार्वजनिक अडियो संवादमा धनुषाको ढल्केबरका ‘सिंह’ थरका एक कांग्रेस कार्यकर्तासँग थपलियाको टेलिफोन संवाद सुनिन्छ । उक्त संवादमा उपेन्द्र कुशवाहालाई मिलाएपछि पैसा कसले दिने भन्ने प्रश्नमा थपलियाले “अमरेशले” भन्ने जवाफ दिएको सुनिन्छ । ती व्यक्ति सर्लाही–४ को धनकौल क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको अवस्थामा स्थानीय कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको र त्यसपछि अडियो बाहिर आएको दाबी गरिएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट क्रमशः सभापति र महामन्त्रीका प्रत्याशी थिए । पछिल्लो समय दुवै नेताबीच दूरी बढेको चर्चा रहँदै आएको छ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएपछि कोइराला असन्तुष्ट बनेका थिए । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि कोइराला सभापति थापाको हस्ताक्षरमा टिकट लिएर मोरङ–६ बाट उम्मेदवार बनेका हुन् ।
कांग्रेस केन्द्रीय समितिले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । संस्थापन पक्षका केही नेताहरूले सर्लाही–४ मा थापालाई पराजित गराउन सके संसदीय दलको नेतृत्वमा प्रभाव जमाउन सकिने आँकलनसहित षड्यन्त्र रचिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
सर्लाहीका एक कांग्रेस कार्यकर्ताका अनुसार शेखर पक्षले पूर्व प्रदेश सांसद उपेन्द्र कुशवाहालाई अमरेशको पक्षमा ल्याउने प्रयास गरेको थियो । तर कुशवाहा हाल सभापति थापाको चुनावी अभियानमा सक्रिय रहेको बताइएको छ । नियन्त्रणमा लिइएका व्यक्तिको मोबाइल कल विवरणमा शेखरका स्वकीय सचिव थपलिया र अमरेश सिंहसँग नियमित सम्पर्क देखिएको दाबी गरिएको छ ।
यसअघि स्वतन्त्र रूपमा प्रतिनिधिसभा निर्वाचन जितेका अमरेशले गगन थापाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए भने शेखर कोइरालाप्रति नरम धारणा राख्दै आएका थिए । स्रोतका अनुसार निर्वाचन घोषणा भएपछि कोइराला र अमरेशबीच भेटघाटसमेत भएको दाबी गरिएको छ ।


