विराटनगर । चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका अर्जुन आचार्यमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भर्त्सना गरेको छ।
प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा ‘हाम्रो मत’का कार्यकारी सम्पादक तथा ‘रातोपाटी’का संवाददाता आचार्यमाथिको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।
बिहीबार झापाको कमल गाउँपालिकामा केपी शर्मा ओलीको घरदैलो कार्यक्रममा रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको जनाइएको छ। विज्ञप्तिअनुसार एमाले निकट ‘भोलेन्टियर फोर्स’ का कार्यकर्ताहरूले भिडियो खिचिरहेका आचार्यमाथि हातपात गर्दै मोबाइल र क्यामेरा खोसेका थिए। बा २५६१ नम्बरको स्कर्पियोमा आएको समूहले कुटपिट र लुटपाटसमेत गरेको दाबी गरिएको छ।
पार्टी अध्यक्षकै उपस्थितिमा पत्रकारमाथि आक्रमण हुँदा सुरक्षा निकायले प्रभावकारी हस्तक्षेप नगरेको, एमाले नेतृत्व मौन बसेको तथा आचार्यको मोबाइल र चस्मा अझै फिर्ता नभएको भन्दै प्रेस सेन्टरले उक्त घटनालाई निन्दनीय र आपत्तिजनक भनेको छ।
प्रेस सेन्टरले भौतिक आक्रमणमार्फत पत्रकारको आवाज दबाउने प्रयास नगर्न चेतावनी दिँदै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै निर्वाचन अवधिमा पत्रकारहरूलाई सुरक्षित र निर्बाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ।


