धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा)बाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जगन्नाथ चौधरीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
आफूले अघि सारेका सुशासन, समावेशिता र विकासका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्दका मुद्दा समान रहेको उल्लेख गर्दै उनले उम्मेदवारी स्थगित गरी रास्वपामा समाहित भएको बताएका हुन्। “परिवर्तनका लागि समान सोच भएका शक्ति एक ठाउँमा उभिन जरुरी ठानेँ,” चौधरीले भने।
उनीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेता हरि रेग्मी, जशु भट्ट तथा उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा उम्मेदवार चन्दले चौधरीजस्तो अनुभवसहितको नेतृत्व पार्टीका लागि महत्वपूर्ण हुने बताए। चौधरी यसअघि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए र त्यसबेला पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए।
चौधरीको प्रवेशसँगै कैलाली–५ मा चुनावी समीकरण थप रोचक बनेको छ।


