संखुवासभा । अर्जुन कार्कीले प्रतिनिधि सभा सदस्यका उम्मेद्वारका रूपमा चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्। अर्जुन कार्की नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन्।
संखुवासभाको भिरालो बाटोदेखि टार र बजार क्षेत्रसम्म र्याली, सभा र घरदैलो कार्यक्रम गर्दै उनी किसानका खेतबारीसम्म पुगिरहेका छन्। उनले शिक्षा र सीपलाई उत्पादन, उद्यम र स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति प्राथमिकतामा राख्दै १० बुँदे नीतिगत तथा संरचनागत सुधारको प्रतिबद्धता सार्वजनिक गरेका छन्।
ऊर्जा उत्पादन र प्रसारण विस्तार, साना–ठूला जलविद्युत् आयोजनाको प्रभावकारी उपयोग, सीमावर्ती व्यापार नाका सुदृढीकरण तथा विशेषगरी किमाथाङ्का नाकालाई आधुनिक र व्यवस्थित बनाउने योजना उनले अघि सारेका छन्। हिमालसम्म सडक र पूर्वाधार विस्तार गर्दै पर्यटन र व्यापारलाई सँगसँगै अगाडि बढाउने उनको योजना रहेको छ।
अरुण उपत्यकादेखि हिमालको काखसम्मका सम्भावनालाई जोड्दै कृषि, पर्यटन र व्यापारको त्रिकोणीय मोडल विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। पूर्वराजदूतसमेत रहेका कार्कीले संखुवासभा केवल भौगोलिक सिमाना नभई सम्भावनाको ढोका भएको उल्लेख गर्दै नारा होइन, नीति र सम्भावनाको बहस आवश्यक रहेको बताएका छन्।
यसअघि उनले ‘किन र कसरी पाल्छ संखुवासभाले नेपाल?’ शीर्षकमा चुनावी संकल्प सार्वजनिक गर्दै आफ्नो अनुभव र जिम्मेवारीलाई जिल्लाको विकाससँग जोड्ने अठोट व्यक्त गरेका थिए। ‘मेरो संकल्प, मेरो अनुभव, मेरो जिम्मेवारी’ भन्ने अपीलमार्फत उनले संखुवासभालाई ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोलका रूपमा चित्रित गरेका छन्।


