काठमाडौं: नेपाली कांग्रेसले विदेशमा बस्ने गैरआवासीय नेपाली (NRN) सम्बन्धी मुद्दालाई आफ्नो प्रतिज्ञापत्रमा स्पष्ट रूपमा समेटेको छ। कांग्रेस सभापति गगनकुमार थापाले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गर्दै १७०–१७४ पृष्ठसम्म ‘नेपाली डायस्पोराः अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षकमा गैरआवासीय नेपालीका अधिकार, योगदान र भावनालाई सम्बोधन गरिएको बताए।
प्रतिज्ञापत्रले NRN नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै विदेशमा रहेका सबै पुस्तालाई देशको सामाजिक, सांस्कृतिक र आर्थिक प्रगतिमा संलग्न गराउन जोड दिएको छ। कांग्रेसले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई आत्मसात गर्दै डायस्पोराको अनुभव, ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका लागि भूमि, अध्यागमन, कम्पनी दर्ता र श्रम सम्बन्धी कानुनी जटिलतालाई हटाएर उनीहरूलाई नागरिकसरह सुविधा उपलब्ध गराउने र विदेशबाट पनि मतदान गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने भनिएको छ। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै निर्वाचन कानुनमा संशोधनमार्फत उनीहरूलाई राष्ट्रिय मूलधारसँग प्रत्यक्ष जोड्ने प्रस्ताव गरिएको छ।
आर्थिक दृष्टिले डायस्पोराको पुँजीलाई पूर्वाधार विकासमा जोड्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र दोहोरो कर प्रणाली अन्त्य गर्न आवश्यक द्विपक्षीय सम्झौता गर्नुपर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। यसैगरी, उच्च दक्षता भएका विज्ञलाई नीतिनिर्माण र अनुसन्धानमा संलग्न गराउने, सांस्कृतिक र शैक्षिक कार्यक्रममार्फत दोस्रो र तेस्रो पुस्तालाई मातृभूमिसँग जोड्ने प्रस्ताव पनि गरिएको छ।
प्रतिज्ञापत्रले गैरआवासीय नेपालीलाई केवल आर्थिक सहयोग गर्ने माध्यम मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने र आधुनिक प्रविधि भित्र्याउने बलियो स्रोतको रूपमा मान्यता दिनुपर्ने विश्वास व्यक्त गरेको छ। यसरी उनीहरूको अधिकार सुनिश्चित गर्दै मातृभूमिसँगको भावनात्मक सम्बन्धलाई कानुनी रूपमा मजबुत बनाउँदा मात्र ‘समुन्नत नेपाल’को सपना साकार हुने उल्लेख छ।


