काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जनाउँदै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
बिहीबार गृहमन्त्री अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षा व्यवस्थालाई चुस्त, भरपर्दो र समन्वित ढंगले कार्यान्वयन गरिएको जानकारी दिए। उनले सबै सम्बद्ध निकायबीचको सहकार्य र समन्वयका कारण निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए।
बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले हालसम्मका सुरक्षा तयारीबारे गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए। उनीहरूले जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयनमा लगिएको र आवश्यक जनशक्ति परिचालन गरिएको बताएका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयन तथा निर्वाचनको समग्र तयारीबारे विस्तृत छलफल गरिएको थियो। ‘जुम एप’ मार्फत सञ्चालन गरिएको उक्त बैठकमा सातै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी भएका थिए।
बैठकमा प्रदेश र जिल्लास्तरमा अपनाइएका सुरक्षा रणनीति, संवेदनशील क्षेत्रको व्यवस्थापन तथा निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने तयारीबारे प्रस्तुतीकरण समेत गरिएको जनाइएको छ।


