काठमाडौँ । नेपाली कांग्रेसले सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै निर्वाचनपछि सरकारमा गएमा कार्यान्वयन गर्ने विभिन्न योजना सार्वजनिक गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञापत्रबारे आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ अन्तरक्रिया कार्यक्रममा सभापति गगन कुमार थापाले सुशासन स्थापना र मुलुकको रूपान्तरणबारे आफ्नो धारणा प्रस्तुत गरेका हुन्।
कार्यक्रममा सभापति थापाले संविधान संशोधन, मन्त्रालय संख्या घटाउने, भ्रष्टाचार निर्मूल गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विस्तृत व्याख्या गरे। उनले कांग्रेस बहुमतमा गएर सरकार गठन गरे पनि नगरे पनि प्रतिज्ञापत्रका प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारे।
कांग्रेसले २०७२ असोज ३ गते जारी भएको वर्तमान संविधानप्रति पूर्ण प्रतिबद्धता जनाएको छ। तर, विद्यमान निर्वाचन प्रणालीका कारण कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन हुने भएकाले निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने प्रस्ताव प्रतिज्ञापत्रमा समेटिएको छ।
सभापति थापाले भने, “संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्ने हाम्रो तयारी छ। एउटा दलले बहुमत ल्याउन सक्ने व्यवस्था बनाउनुपर्छ। संशोधन गर्दा समावेशितालाई अझै बलियो बनाउने हाम्रो योजना छ।”


