काठमाडौं । ज्ञानेन्द्र शाहले मुलुकका प्रमुख राजनीतिक र सामाजिक पक्षबीच सहमति कायम गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशमार्फत उनले आगामी निर्वाचनले मात्र देशका सबै समस्याको समाधान नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिको वातावरण तयार पार्नुपर्ने बताएका हुन्। उनले वर्तमान अवस्थामा सबै पक्षबीच समझदारी निर्माण गरी मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन्।
उनले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे संकेत गर्दै सरकारलाई परोक्ष रूपमा निर्वाचन सारेर राष्ट्रिय समस्या समाधानमा ध्यान दिन आग्रह गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन प्रतिनिधि चयन गर्ने स्वाभाविक प्रक्रिया भए पनि अहिलेको जनभावनाले पहिले राष्ट्रिय समस्याको समाधान आवश्यक रहेको देखाएको उनको भनाइ छ।
निर्वाचनपछि कुनै प्रकारको द्वन्द्व, खिचातानी वा अस्थिरता नहोस् भन्ने उद्देश्यले सहमति र समझदारीमार्फत अघि बढ्नुपर्ने उनको सुझाव छ। मुलुकको अस्तित्व र राष्ट्रिय अस्मिता नै चुनौतीमा परेको अनुभूति भइरहेको भन्दै उनले विगतमा भएका राजनीतिक परिवर्तनले देश र जनतालाई के उपलब्धि दिएको भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
साथै उनले सद्भाव, सहकार्य र एकताको राजनीतिक संस्कृतिलाई प्रवर्द्धन गर्न सबै पक्षसँग आग्रह गरेका छन्। वर्तमान अवस्थामा देश अस्थिरता, अन्योल र चिन्ताको परिस्थितिमा रहेको महसुस आम नागरिकले गरिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय समस्याको दीर्घकालीन समाधानपछि मात्रै निर्वाचनतर्फ जानु उचित हुने बताएका छन्।
पूर्वराजा शाहले करिब आठ मिनेट लामो भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।


