काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा चुनावी अभियानमा जुटिरहेका बेला ऐतिहासिक चुनबाङ बैठक स्थल पुगेका छन्। मतदाता भेटघाट कार्यक्रम अन्तर्गत उनले आज बिहान चुनबाङको भेरीडाँडा मा रहेको तत्कालीन माओवादी केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन्।
वि.सं. २०६२ साल असोजमा उक्त स्थानमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठक बसेको थियो। सो बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। बैठकले ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यमा सीमित गर्ने निर्णय पनि गरेको थियो, जसलाई माओवादी आन्दोलनको ऐतिहासिक मोडका रूपमा लिइन्छ।
भ्रमणका क्रममा प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता दाहाल बसेको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेका घर र कोठाहरूको अवलोकन गरेका थिए। पत्नी र छोरासम्बन्धी जिज्ञासामा उनले भावुक हुँदै नेपाली क्रान्तिमा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताए।
प्रचण्डले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति प्रक्रियातर्फ डोर्याएको उल्लेख गर्दै रुकुम पूर्व लाई क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने महत्वपूर्ण जिल्ला भएको बताए।
निर्वाचन अभियान अन्तर्गत उनले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी पुथा उत्तर गाउँपालिका को तकसेरामा पनि मतदातासँग भेट गर्ने कार्यक्रम तय भएको छ। प्रचण्ड विगत तीन दिनदेखि मतदाता भेटघाटका लागि रुकुम पूर्वमा सक्रिय रहेका छन्।
रुकुम पूर्व लुम्बिनी प्रदेश को एक मात्र पहाडी जिल्ला हो।


