काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउन निर्देशन दिएका छन्। उनले आवश्यक स्रोत, साधन र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग भएको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन्। लोकतन्त्रमा जनताको अभिमत बुझ्ने प्रमुख माध्यम निर्वाचन भएकाले यसलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने उनले बताए।
राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले उक्त जानकारी दिएका हुन्।
भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो।


