काठमाडौं — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विदेशमा बस्ने नेपालीहरू स्वदेश फर्किने क्रम बढेको देखिएको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि मतदान हुँदैछ।
विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार दिने विषयमा यसअघि छलफल भए पनि कार्यान्वयन हुन नसकेपछि धेरै नेपाली मतदानका लागि स्वदेश फर्किन थालेका छन्।
अध्यागमन विभागका अनुसार पछिल्लो समय विदेश जानेभन्दा स्वदेश फर्किनेको संख्या बढ्दो क्रममा छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार फर्किनेको संख्या बढेको देखिए पनि त्यसको विस्तृत विश्लेषण भने गरिएको छैन।
माघ १८ देखि २७ गतेसम्म ५१ हजार ७९ जना नेपाली स्वदेश फर्किएका छन् भने सोही अवधिमा ५० हजार नेपाली विदेशिएका छन्। यस अवधिमा साउदी अरेबियाबाट ४ हजार ७०७ जना र कतारबाट ५ हजार ५१७ जना नेपाल फर्किएका छन्। सोही समयमा कतारतर्फ ५ हजार ६ जना गएका छन्।
सन् २०२६ जनवरी (पुस १७ देखि माघ १७) सम्म १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् भने १ लाख ५७ हजार ६५८ जना विदेशिएका छन्। उक्त अवधिमा साउदी अरेबियाबाट १३ हजार ३३६ जना नेपाल फर्किँदा १४ हजार ५९४ जना साउदी गएका थिए। कतारबाट १८ हजार नेपाल फर्किँदा १५ हजार विदेशिएका छन्। त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) बाट २६ हजार ४०० जना नेपाल फर्किँदा १८ हजार ४०० जना मात्र विदेशिएको तथ्यांकले देखाएको छ।
कात्तिक १५ देखि मंसिर १५ सम्मको अवधिमा १ लाख ४९ हजार नेपाली स्वदेश फर्किएका थिए भने १ लाख ४४ हजार विदेशिएका थिए। यस अवधिमा आउनेको संख्या जानेभन्दा ५ हजारले बढी रहेको देखिन्छ।
अध्यागमन विभागका अनुसार विदेशमा नयाँ वर्षका अवसरमा लामो बिदा हुने भएकाले पनि धेरै नेपाली स्वदेश फर्किएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, जानकारहरूका अनुसार पछिल्लो समय स्वदेश फर्किने प्रमुख कारण आगामी निर्वाचन हुन सक्ने बताएका छन्।
सन् २०२५ नोभेम्बर (कात्तिक १५ देखि मंसिर १४) मा १ लाख ३४ हजार नेपाली स्वदेश फर्किएका थिए भने सोही अवधिमा १ लाख ६० हजार विदेशिएका थिए। उक्त समयमा यूएईबाट २३ हजार नेपाल फर्किँदा २० हजार विदेशिएका थिए। साउदी अरेबियाबाट १० हजार ५०० जना नेपाल फर्किँदा १७ हजार ८५४ जना विदेशिएका थिए।



