काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको छ भने हिमाली र उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहने जनाएको छ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्न सक्ने मौसमविद्ले जनाएका छन्। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।


