रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले सक्रियता बढाएका छन्।
नेपाल सरकार र गृह मन्त्रालयको विशेष निर्णयअनुसार यसपटक निर्वाचनभन्दा झण्डै एक महिना अगावै नेपाली सेनालाई सुरक्षाका लागि परिचालन गरिएको छ। विगतमा मतदानको केही दिनअघि मात्र सेना परिचालन हुने अभ्यास रहे पनि यसपटक ‘एकीकृत सुरक्षा योजना २०८२’ अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष गस्ती सुरु गरेको हो।
विशेष गरी रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षालाई सुनिश्चित गर्न तीनवटै सुरक्षा निकायको संयुक्त टोलीले दैनिक रूपमा पैदल तथा मोबाइल गस्ती गरिरहेको छ।
डीएसपी लाबुङले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु मुख्य उद्देश्य रहेको बताउँदै सम्भावित डर–त्रास हटाउन र सुरक्षा चुनौतीलाई सामना गर्न सेनासहितको टोलीले नियमित निगरानी गरिरहेको जानकारी दिइन्।
सुरक्षा निकायले जिल्लाको भौगोलिक अवस्था तथा विगतका निर्वाचनका घटनालाई आधार बनाएर ‘अति संवेदनशील’ र ‘संवेदनशील’ क्षेत्रहरूको पहिचान गरी विशेष निगरानी बढाएको जनाएको छ। साथै, संयुक्त टोलीले मतदान स्थलहरूको भौतिक अवस्था, प्रवेश र निकास मार्ग तथा सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गरिरहेको बताइएको छ।


