Saturday, November 7, 2026
Homeसामाचारजोशीको सालिक तोडिएपछि धर्मपत्नी सपनाको प्रतिबद्धता– ‘उहाँको सपना अधुरो रहन दिँदिनँ’

जोशीको सालिक तोडिएपछि धर्मपत्नी सपनाको प्रतिबद्धता– ‘उहाँको सपना अधुरो रहन दिँदिनँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वि.सं. २०७९ चैत १३ गते काठमाडौंको ढोकाटोलमा दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उनको योगदानको स्मरण गरेका थिए। सो अवसरमा राष्ट्रपतिले जोशीलाई जनतासँग नजिक रहेर उनीहरूको सुख-दुःख बुझ्ने नेताका रूपमा चित्रण गरेका थिए। कार्यक्रममा जोशीकी धर्मपत्नी सपना राजभण्डारी पनि भावुक मुद्रामा सहभागी भएकी थिइन्।

त्यस अवसरमा सपनाले समाजमा व्यक्तित्वलाई जीवन्त राख्न सालिक स्थापना गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै जोशीले लिएको राजनीतिक लक्ष्य पूरा गर्न आफू तयार रहेको बताएकी थिइन्।

तर सालिक अनावरण भएको तीन वर्ष पूरा नहुँदै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सालिक तोडफोड गरिएको थियो। आन्दोलनकारीहरूले सालिक फोडेपछि एक तरकारी व्यवसायीले उक्त सालिक बोराले बेरेर सुरक्षित रूपमा राखेका थिए।

सपनाले जोशी सबैका प्रिय नेता भएको स्मरण गर्दै जनताको हितका लागि धेरै काम गरेको बताइन्। उनले सुशासन र भ्रष्टाचारविरुद्ध जोशी सधैं दृढतापूर्वक उभिएको उल्लेख गर्दै सालिक तोडफोड र घरमा गरिएको आक्रमणप्रति दुःख व्यक्त गरिन्। उनका अनुसार काठमाडौंमा चल्ने सफा टेम्पो सेवा, टुँडिखेल खाली गराउने पहल तथा औषधि उद्योग प्रवर्द्धनमा जोशीको महत्वपूर्ण योगदान रहेको थियो।

सपनाले तरकारी व्यवसायीले सुरक्षित राखेको सालिक घरमा ल्याएर राखिएको जानकारी दिँदै नवीन्द्रराजको स्मृतिमा पुनः सालिक स्थापना गरिने बताइन्। साथै, चाक्सीबारीस्थित गणेशमान सिंह निवास, कुसुनजीको आश्रम र विराटनगरस्थित कोइराला निवासमा भएको आगजनी घटनाप्रति पनि उनले दुःख व्यक्त गरिन्।

वि.सं. २०१९ पुस २२ गते काठमाडौंमा जन्मिएका जोशीको वि.सं. २०७७ चैत १३ गते निधन भएको थियो। संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा सक्रिय रहँदै उनी स्वच्छ छविका नेताका रूपमा चिनिएका थिए।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेकी सपनाले जोशीको इमान्दारी, निष्ठा र सपना साकार पार्न आफू सक्रिय रहेको बताएकी छिन्। उनले युवा र उद्यमशीलता प्रवर्द्धन, काठमाडौंको दिगो विकास तथा विश्व सम्पदाको संरक्षणमा जोड दिँदै निष्ठाको राजनीतिबाट पनि स्थापित हुन सकिने जोशीको दृष्टिकोणलाई निरन्तरता दिने संकल्प व्यक्त गरेकी छिन्। साथै, चुनावी अभियानमा सक्रिय रहेकी उनले मतदाताको साथ पाउने विश्वास व्यक्त गरेकी छिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका