काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनका लागि उपाध्यक्ष डा. हेमराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबार भर्चुअल कार्यक्रममार्फत उनले १३ बुँदे एजेन्डा सार्वजनिक गर्दै संस्थालाई एकीकृत, प्रविधिमैत्री तथा राजनीतिमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
बेलायतस्थित लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा. शर्माले एनआरएनएको खस्किँदै गएको साख जोगाउन तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्न नयाँ दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको बताए।
आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले सबै पञ्जीकृत सदस्यले अनलाइनमार्फत प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था लागू गर्ने योजना सार्वजनिक गरेका छन्। साथै, सदस्यता प्रमाणीकरणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गर्ने तथा पेशागत र प्राज्ञिक परिषद् गठन गर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्।
डा. शर्माले वंशजको नागरिकताको निरन्तरता, विदेशबाट मतदान गर्न पाउने अधिकार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षाका विषयमा सरकारसँग सशक्त पैरवी गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संस्थाको नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने र एनआरएनए फाउन्डेसनमार्फत परोपकारी कार्यलाई दिगो बनाउने योजना पनि सार्वजनिक गरेका छन्।
एनआरएनएको अध्यक्ष पदका लागि यसअघि उपाध्यक्ष रोबिन शेरचनले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।


