हेटौंडा । मकवानपुर प्रहरीले अफिम जस्तो देखिने करिब २ किलो लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले माघ २३ गते दिउँसो करिब १:३० बजे विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई शंका लागेपछि रोकी खानतलासी गरिएको थियो। तलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध र प्रयोग गरिएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


