Saturday, November 7, 2026
Homeसामाचारनिजी सवारी घटाएर सार्वजनिक यातायात प्राथमिकतामा ल्याउने महानगरको लक्ष्य

निजी सवारी घटाएर सार्वजनिक यातायात प्राथमिकतामा ल्याउने महानगरको लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी सवारी साधनको प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने लक्ष्य अघि सारेको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य आवश्यक रहेको बताएकी छन्।

सार्वजनिक यातायात सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग भएको छुट्टाछुट्टै छलफलमा उनले सहभागितामूलक तथा साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिइन्। आइतबार आयोजित छलफलमा डंगोलले सार्वजनिक यातायातमा यात्रुले भोगिरहेका समस्यालाई तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले भनिन्, “काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो अवस्थामा किशोरी तथा महिलाले दुर्व्यवहार भोग्नुपरेको छ। यी समस्या समाधान गर्न ढिला गर्न मिल्दैन।”

डंगोलले काठमाडौंको सार्वजनिक यातायातलाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य रहेको उल्लेख गर्दै योजना निर्माणको चरणदेखि नै विज्ञ र सरोकारवालासँग सहकार्य गर्न महानगर तयार रहेको स्पष्ट पारिन्।

विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा उनले स्थानीय आवश्यकता र अवस्थालाई ध्यानमा राखी सार्वजनिक यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिइन्। “हामी आफ्नै सन्दर्भ र अध्ययनबाट प्राप्त तथ्यका आधारमा काम गर्नेछौँ,” उनले भनिन्।

यसैबीच संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीसँग पनि छलफल भएको थियो। उक्त भेटमा परिषदले हालसम्म गरेका काम, भावी योजना तथा कार्यदिशाबारे समीक्षा गरिएको थियो। छलफलमा जीआईएस सेवा, स्मार्ट ट्राफिक निगरानी प्रणाली, एकीकृत एप, तथ्याङ्क संकलन तथा रुट व्यवस्थापनजस्ता विषयमा विचार–विमर्श भएको थियो।

यसअघि साझा यातायातका अधिकारीहरूसँग भएको छलफलमा पाटन अस्पतालबाट विभिन्न प्रमुख अस्पताल जोड्ने सेवा विस्तार तथा कलंकी–त्रिपुरेश्वर–माइतीघर–बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रीकालीन विद्युतीय बस सञ्चालनको सम्भावनाबारे पनि छलफल भएको थियो।

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, ट्राफिक विज्ञ जगतमान श्रेष्ठलगायत अधिकारी सहभागी थिए।

महानगरपालिकाले वातावरणमैत्री तथा यात्रुमैत्री सार्वजनिक यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। यसअन्तर्गत सूचना प्रविधिमा आधारित क्यासलेस एकीकृत यातायात प्रणाली, वास्तविक समयमा सूचना उपलब्ध गराउने प्रणाली, बस बिसौनी र सार्वजनिक शौचालय निर्माण तथा पैदलयात्री, अपाङ्गता भएका व्यक्ति र साइकल यात्रीमैत्री सडक व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा लिएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका