इस्लामावाद — पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटका मुख्य योजनाकारसहित चार जना पक्राउ परेका छन्।
इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा भएको आत्मघाती विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो भने १७० जनाभन्दा बढी घाइते भएका थिए।
शनिबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पक्राउ परेका चार जनामध्ये एक जना घटनाको मुख्य योजनाकार रहेको बताए। उनका अनुसार विस्फोटको योजनाकार आईएसआईएससँग सम्बन्धित एक अफगान नागरिक रहेको दाबी गरिएको छ।
गृहमन्त्री नकवीले आक्रमणको योजना र प्रशिक्षण अफगानिस्तानमै भएको उल्लेख गर्दै पक्राउ परेकाहरूले आक्रमणकारीलाई पाकिस्तान कसरी ल्याइयो र कसरी प्रशिक्षण दिइयो भन्नेबारे विस्तृत जानकारी दिएको बताएका छन्।
घटनाको जिम्मेवारी आईएसआईएसले शनिबार नै लिएको बताइएको छ।
यस घटनाबारे पाकिस्तानले अफगानिस्तानसँगै भारतमाथि पनि संलग्नताको आरोप लगाएको छ। पाकिस्तानले अफगानिस्तानबाट सञ्चालन हुने आतंकवादी सञ्जाललाई भारतले आर्थिक सहयोग गरिरहेको दाबी गरेको छ, तर त्यसको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरिएको छैन।
यस आरोपप्रति प्रतिक्रिया जनाउँदै भारतको विदेश मन्त्रालयले पाकिस्तानका आरोपहरू आधारहीन रहेको भन्दै खारेज गरेको छ। साथै इस्लामावादको मस्जिदमा भएको विस्फोटको निन्दा गर्दै भारतले ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको जनाएको छ।


