काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा एकै परिवारका तीन दिदीबहिनी मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान करिब २ बजे भरत सिटी सोसाइटीमा रहेको ९ तले भवनबाट खसेर उनीहरूको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार चेतन कुमारकी छोरीहरू १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाकी मृत अवस्थामा भेटिएका हुन्। घटना हुँदा परिवारका अन्य सदस्यहरू घरमै सुतिरहेको अवस्थामा रहेका थिए।
प्रारम्भिक अनुसन्धानमा तीनै जना ‘कोरियन लभर’ नामक कथित अनलाइन टास्क–आधारित गेमप्रति अत्यधिक आकर्षित भएको आशंका गरिएको छ। परिवारका सदस्यहरूले उनीहरू लामो समयसम्म मोबाइल प्रयोगमा व्यस्त रहने र मोबाइल प्रयोग रोक्न खोज्दा विवाद हुने गरेको बताएका छन्। खेलप्रतिको अत्यधिक आकर्षणका कारण उनीहरूले विद्यालय जानसमेत छाडेको खुलेको छ।
प्रहरीले अनलाइन गेममार्फत मानसिक दबाब, सम्भावित अनलाइन दुर्व्यवहार, बाह्य व्यक्तिको प्रभाव तथा पारिवारिक अवस्थालगायत सबै पक्षबाट घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यस सम्बन्धमा तीनैजनाका मोबाइल फोन जफत गरी डिजिटल गतिविधि र सञ्चार विवरणको फरेन्सिक परीक्षण भइरहेको प्रहरीले जानकारी दिएको छ।


