Saturday, November 7, 2026
Homeसामाचारकोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन, कर्णालीमा औद्योगिक विकासको ढोका खुल्यो

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन, कर्णालीमा औद्योगिक विकासको ढोका खुल्यो

काठमाडौं । झण्डै चार दशक पुरानो ३३ केभी विद्युत प्रसारण लाइन विस्थापित गर्दै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। नयाँ प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा विद्युतबाट सञ्चालन हुने ठूला उद्योग स्थापना गर्ने मार्ग खुल्ने अपेक्षा गरिएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजना कार्यालय सुर्खेतका प्रमुख रविकुमार चौधरीका अनुसार कमजोर प्रसारण क्षमताका कारण हालसम्म कर्णालीमा ठूला उद्योग स्थापना हुन सकेका थिएनन्। अब भने पर्याप्त विद्युत उपलब्ध हुने भएकाले सिमेन्ट उद्योगसहित विभिन्न साना तथा ठूला उद्योग सञ्चालन गर्न सहज हुने उनले बताए। एक सिमेन्ट उद्योग सञ्चालनका लागि करिब ३० मेगावाट विद्युत आवश्यक पर्ने र त्यो अब कर्णालीमा उपलब्ध हुने उनको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आइतबार प्रसारण लाइन सञ्चालनको सुरुवात गरेका थिए। उनले १३२ केभी लाइन सञ्चालनमा आएसँगै कर्णालीवासीले गुणस्तरीय विद्युत सेवा पाउने र लो–भोल्टेज तथा बारम्बार बत्ती जाने समस्या समाधान हुने बताएका छन्। साथै विद्युतको सदुपयोग गरी कर्णालीको विकास र औद्योगिकीकरणमा योगदान पुर्‍याउन उनले आग्रह गरे।

कोहलपुर–सुर्खेतबीच करिब ५३ किलोमिटर दूरीमा १६२ वटा टावर निर्माण गरी प्रसारण लाइन विस्तार गरिएको हो। घुमाउरो भूगोलका कारण वास्तविक लाइन विस्तार करिब ५५ किलोमिटर पुगेको आयोजना प्रमुख चौधरीले जानकारी दिए। यस प्रसारण लाइनले दैलेखका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न समेत सहज बनाउनेछ।

आगामी डेढ वर्षभित्र सुर्खेत–दैलेख र त्यसपछि दैलेख–जुम्लासम्म प्रसारण लाइन विस्तार गर्ने योजना रहेको छ। नयाँ प्रसारण लाइन सञ्चालनमा आएसँगै प्राविधिक चुहावट घट्ने, लो–भोल्टेज हट्ने तथा हावाहुरीमा समेत बत्ती जाने समस्या कम हुने अपेक्षा गरिएको छ।

उक्त आयोजना कोरोना महामारी, लकडाउन, राष्ट्रिय निकुञ्ज क्षेत्रको नियम, ठूलो संख्यामा रुख कटान, कठिन भूगोल र जग्गा प्राप्तिमा ढिलाइका कारण निर्धारित समयभन्दा झण्डै चार वर्षपछि सम्पन्न भएको हो। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले २०७६ असार २२ मा सम्झौता गरी करिब ६५ करोड रुपैयाँ लागतमा आयोजना निर्माण गरेको थियो।

निर्वाचन आचारसंहिताका कारण प्रसारण लाइनको औपचारिक उद्घाटन भने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गरिने जनाइएको छ। यसअघि २०४५ सालमा कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलो पटक ३३ केभी प्रसारण लाइन विस्तार गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका