काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि चारै सुरक्षा निकाय परिचालित भएका छन्।
सरकारले निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालित भएका छन्।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री सुरक्षा घेरा सम्हाल्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। उक्त बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गरी सुरक्षा व्यवस्था मजबुत बनाउनेछ।
नेपाली सेनाले बाहिरी सुरक्षा घेरामा रही महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। सेनाका अनुसार निर्वाचन प्रयोजनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि सेना परिचालन गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए।
सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सेनाका ‘वेस’ स्थापना गरिने र संयुक्त गस्ती सञ्चालन गरिनेछ। निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।
निर्वाचनअघि मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थल तथा मतगणनास्थलको सुरक्षा सेनाको मुख्य जिम्मेवारी रहनेछ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षासमेत सेनाले गर्नेछ।
मतदानका क्रममा नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिनेछ।
आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। यस निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन्।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन गरिनेछ। विद्यमान जनशक्ति अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।
निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
यसैगरी सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति परिचालन हुनेछन्। सशस्त्र प्रहरीले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र आवश्यक पर्दा १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।


