काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार समानुपातिकतर्फ एक हजार ७७२ जना महिला र एक हजार ३६३ जना पुरुष उम्मेदवार रहेका छन्। यस निर्वाचन प्रणालीमा ६३ राजनीतिक दल सहभागी भएका छन् भने आयोगले कुल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ।
आयोगका अनुसार अन्तिम सूचीमा कुल तीन हजार १३५ जना उम्मेदवार समावेश छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम उक्त नामावली प्रकाशन गरिएको हो।
यसअघि आयोगले विभिन्न कारणले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना तथा प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम कायम रहेका २५ जनाको नाम हटाइएको आयोगले जनाएको छ।
त्यसैगरी तोकिएको जरिवाना नतिरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्र अन्तर्गत नपरेका एक जना तथा सम्बन्धित राजनीतिक दलको सिफारिसमा नाम हटाइएका १० जनाको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जानकारी दिएको छ।


