काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य परिवर्तन गर्ने आन्दोलनका लागि आफू थप त्याग र कठोर तपस्याका लागि तयार रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले देशका सन्ततिको भविष्य नष्ट गर्ने प्रवृत्तिविरुद्ध आन्दोलन निर्णायक चरणमा पुगेको उल्लेख गरेका छन्। इतिहासको धार रोक्ने अधिकार कसैसँग नभएको भन्दै उनले व्यक्तिगत लाभ–हानिभन्दा देशको भविष्य प्राथमिकतामा रहेको स्पष्ट पारे।
उनले भ्रष्ट प्रणालीका पक्षधरहरूले आफूहरूलाई लोकप्रियतावादी, भिजन र नीति सिद्धान्तविहीन भनेर आलोचना गरिरहेको भन्दै त्यसको प्रतिवाद गरेका छन्। रास्वपाका नीति र दस्तावेज स्पष्ट रूपमा उपलब्ध हुँदाहुँदै पनि अध्ययन नगरी आलोचना गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।
लामिछानेले पुराना राजनीतिक शक्ति र अभ्यासले देशलाई संकटतर्फ धकेलेको आरोप लगाउँदै अब परिवर्तन अपरिहार्य भएको बताएका छन्। उनले फागुन २१ लाई नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मितिका रूपमा उल्लेख गर्दै त्यसपछि बन्ने संसद नयाँ सोच र नयाँ पात्रले भरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
सभापति लामिछानेले आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसकेको जानकारी दिँदै आजबाट पुनः सार्वजनिक जीवनमा सक्रिय भएको पनि बताएका छन्।


