काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाटै परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार बुधबारदेखि देशभर सेना परिचालन सुरु गरिँदैछ।
सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। सेनाले सशस्त्र प्रहरीले सुरक्षा गरिरहेका सार्वजनिक भवन, कारागार तथा अन्य संवेदनशील स्थानमा समेत सुरक्षा प्रदान गर्नेछ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी पनि निर्वाचन सुरक्षामा खटाइने छन्।
सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन हुनुभन्दा एक महिनाअघि सेना परिचालन गर्ने म्यान्डेटअनुसार आवश्यक सबै तयारी पूरा भइसकेको छ। सेना एकीकृत निर्वाचन सुरक्षा योजनाले तोकेको कार्यविधिअनुसार फिल्डमा खटिने उनले बताए।
गत कात्तिकमा राजनीतिक दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति माग गरेपछि निर्वाचन आयोगले चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो। सोहीअनुसार निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए।
निर्वाचनलाई लक्षित गर्दै आवश्यकताअनुसार गस्ती, पेट्रोलिङ तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाअनुसार संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ। स्वीकृतिपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी तालिम र अभ्यास सम्पन्न गरिसकेको जनाएको छ।
गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी कुल ३ लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुनेछन्। यसमध्ये नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरीबाट ७५ हजार ५९७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ तथा प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी खटाइने छन्। साथै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा परिचालित हुनेछन्।


