काठमाडौं, माघ २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार, समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा परेका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता–अयोग्यता, आयोगका विभिन्न निर्णय तथा राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण छानबिन गरिएको हो।
छानबिनपछि नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक र नेपाल कम्युनिष्ट पार्टीबाट तीन जना गरी विभिन्न दलका उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।
हटाइनेमध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभा सदस्यको समानुपातिक बन्दसूचीमै नाम कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना, उमेर नपुगेका चार जना, मतदाता नामावलीमा नाम नभएका एक जना तथा पिछडिएका क्षेत्रका मतदाता नपरेका दुई जना रहेका छन्।
यस्तै, महिला उम्मेदवार हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको कारण एक जनाको नाम हटाइएको छ। सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए। उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण लागू भएका दुई जना उम्मेदवार पनि बन्दसूचीबाट हटाइएका छन्।


