Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियबलिउड निर्देशक रोहित शेट्टीको घरमा गोली प्रहार: 'अर्को पटक बेडरुममै छिर्छौँ' भन्दै...

बलिउड निर्देशक रोहित शेट्टीको घरमा गोली प्रहार: ‘अर्को पटक बेडरुममै छिर्छौँ’ भन्दै बिश्नोई ग्याङले लियो जिम्मा

मुम्बई | बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको जुहूस्थित निवासमा शनिबार मध्यरातमा अन्धाधुन्ध गोली प्रहार भएको छ। राति करिब १२:४५ बजे नौ तले भवनको पहिलो तलालाई निशाना बनाएर पाँच राउन्ड गोली चलाइएको हो। प्रहरीका अनुसार एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको छ।

घटनालगत्तै मुम्बई र पुणे प्रहरीको टोली सक्रिय भएको थियो। सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा प्रहरीले आइतबार बिहानै चार जनालाई हिरासतमा लिएको छ। उनीहरूमाथि सोधपुछ भइरहेको छ।

लरेन्स बिश्नोई ग्याङको डरलाग्दो चेतावनी

यस आक्रमणको जिम्मेवारी कुख्यात अपराधी लरेन्स बिश्नोई ग्याङले लिएको छ। फेसबुकमार्फत ‘शुभम लोन्कर आरजु बिश्नोई’ नामक एकाउन्टबाट सन्देश जारी गर्दै यसलाई केवल ‘ट्रेलर’ मात्र भनिएको छ।

चेतावनीमा भनिएको छ: “यो त सानो ट्रेलर मात्र हो। पटक-पटक सन्देश पठाउँदा पनि हाम्रो काममा दखल दिएकाले रोहित शेट्टीलाई चेतावनी दिएका हौँ। अर्को पटक गोली घरबाहिर होइन, उसको बेडरुमभित्र छिरेर छातीमा हान्नेछौँ।”

बलिउडमा त्रास: बाबा सिद्दीकी र कपिल शर्माको प्रसङ्ग

बिश्नोई ग्याङले शेट्टीलाई मात्र नभई समग्र बलिउडलाई नै चेतावनी दिएको छ। उनीहरूले केही समयअघि हत्या गरिएका नेता बाबा सिद्दीकीको उदाहरण दिँदै समयमै नसुध्रिए अझ नराम्रो हाल बनाइदिने धम्की दिएका छन्।

यसअघि यो ग्याङले:

  • कमेडियन कपिल शर्माको क्यानडास्थित क्याफेमा तीन पटक गोली चलाएको थियो।

  • अभिनेता सलमान खानलाई लामो समयदेखि ज्यान मार्ने धम्की दिँदै आएको छ।

सुरक्षामा कडाइ

घटनापछि रोहित शेट्टीको सुरक्षा व्यवस्था ‘Z’ श्रेणीको सरह कडा पारिएको छ। जुहूस्थित उनको घर वरपर ठुलो सङ्ख्यामा प्रहरी बल तैनाथ गरिएको छ। मुम्बई क्राइम ब्रान्चले यो घटनालाई गम्भीरतापूर्वक लिँदै बिश्नोई ग्याङको सञ्जाल तोड्न विशेष सर्च अपरेसन चलाइरहेको छ।

लरेन्स बिश्नोई हाल जेलमा भए तापनि उनको ग्याङले क्यानडा, अमेरिका र दुबईबाट आफ्नो नेटवर्क चलाइरहेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गर्दै आएका छन्। बलिउड सेलिब्रेटीहरूलाई ‘हप्ता असुली’ (Extortion) र प्रभाव जमाउनका लागि उनीहरूले यस्ता आक्रमण गर्ने गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका