काठमाडौँ | नेपालको पश्चिमी भूभागमा विकसित भएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै तराईको जनजीवन कुहिरो र तुवाँलोले प्रभावित भएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लागेको छ। महाशाखाले दिएको जानकारी अनुसार यी क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशमा समेत आंशिक बादल लाग्दा घामको तापक्रममा कमी महसुस गरिएको छ।
तराईका जिल्लाहरूमा बिहानैदेखि हुस्सु र कुहिरो लाग्ने क्रम जारी छ। केही स्थानमा लागेको तुवाँलोका कारण वायुको गुणस्तर र पारदर्शितामा समेत कमी आएको छ। आज दिनभर तराईका धेरैजसो भूभागमा हुस्सु र कुहिरो कायम रहने महाशाखाको पूर्वानुमान छ।


