काठमाडौं। सन् २०२६ को जनवरी महिनामा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उक्त महिनामा ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो।
कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ।
जनवरी महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। भारतबाट २६ हजार ६२४ पर्यटक आगमन भएको छ, जुन कुल आगमनको २८.८ प्रतिशत हो। त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्। अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ। मध्यपूर्वबाट १ प्रतिशत, अफ्रिकाबाट ०.४ प्रतिशत तथा अन्य क्षेत्रबाट ४.५ प्रतिशत पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः बलियो बन्दै गएको संकेत गरेको बताएका छन्।
उनका अनुसार गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्कको विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार हुनु पर्यटक आगमन वृद्धिका प्रमुख कारण हुन्। यी सकारात्मक तथ्यांकले नेपाल ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको पनि सीईओ जोशीले बताएका छन्।



