Saturday, November 7, 2026
Homeसामाचारसाँगामा दुई लेनको अन्डरपास निर्माण तीव्र, करिब ४५ प्रतिशत काम सम्पन्न

साँगामा दुई लेनको अन्डरपास निर्माण तीव्र, करिब ४५ प्रतिशत काम सम्पन्न

भक्तपुर । भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनामार्फत निर्माण भइरहेको अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। यसअन्तर्गत बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ।

अन्डरपासको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटर लामो पुलसमेत निर्माण गरिने आयोजना पक्षले जनाएको छ।

सब–इन्जिनियर ज्ञानमान श्रेष्ठका अनुसार हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ। हाल फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ।

कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ। यसअन्तर्गत साँगा–धुलिखेल (८.३ किलोमिटर) र सूर्यविनायक–साँगा (७.५ किलोमिटर) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गरिएको हो।

आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो। सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्तसम्म पुर्‍याइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका