काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। यस अवधिमा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ।


