काठमाडौँ। देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बादल रहेको छ। बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना छ।
आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। यी क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।


