Saturday, November 7, 2026
Homeसामाचार२३ भदौको घटनामा गोली आदेश नदिएको ओलीको खण्डन, सामाजिक सञ्जालको प्रचारलाई निराधार...

२३ भदौको घटनामा गोली आदेश नदिएको ओलीको खण्डन, सामाजिक सञ्जालको प्रचारलाई निराधार बताए

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ भदौको घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका प्रचारहरू गलत, भ्रामक र निराधार भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले आफूले नागरिकमाथि गोली चलाउने कुनै आदेश नदिएको र प्रधानमन्त्रीलाई त्यस्तो आदेश दिने संवैधानिक अधिकारसमेत नहुने स्पष्ट पारेका छन्।

‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन। त्यस्तो आदेश मैले कहिल्यै दिएको छैन र दिन सोच्न पनि सक्दिनँ,’ ओलीले उल्लेख गरेका छन्।

उनले माइतीघरमा सुरु भएको युवाहरूको प्रदर्शन प्रारम्भमा शान्तिपूर्ण रहेको तर पछि ‘घुसपैठिया तत्व’हरूको प्रवेशका कारण अवस्था हिंसात्मक बनेको दाबी गरेका छन्। आयोजकहरूको आग्रह हुँदाहुँदै पनि केही समूहले योजनाबद्ध रूपमा बालबालिका र विद्यालयको पोसाकमा रहेका विद्यार्थीलाई अगाडि सार्दै निषेधित क्षेत्रतर्फ, संसद् भवनसम्म लैजाने प्रयास गरेको ओलीको भनाइ छ।

‘संसद् भवनअगाडि आगजनी गर्ने प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि यो अवस्था कानुनअनुसार आन्दोलन नभई राज्यविरुद्धको हमला बन्यो,’ ओलीले भनेका छन्। संसद् भवनभित्र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण भएपछि स्थिति नियन्त्रणका लागि गोली चलेको उल्लेख गर्दै उनले सुरक्षाकर्मीहरूले सरकारको आदेशमा होइन, कानुन र आफ्नो कर्तव्यको सपथअनुसार काम गरेको बताएका छन्।

उक्त घटनामा ज्यान गुमाएका १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले घटनाको गम्भीरता बुझेर तत्कालै पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराएका छन्। १९ जना नानी–बाबुको मृत्युको पीडा आफूलाई अझै सताइरहेको भन्दै उनी मर्माहत भएको पनि लेखेका छन्।

ओलीले आफ्नो राजीनामापछि भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता राष्ट्रिय धरोहरहरूमा आगजनी भएको उल्लेख गर्दै ती घटनाहरू देशलाई हिंसा र अराजकतामा धकेल्ने उद्देश्यले गरिएको दाबी गरेका छन्। ‘यदि त्यस दिन सुरक्षाकर्मीले हतियार खोसिन दिएको भए वा संसद् भवन जलेको भए के स्थिति सामान्य रहन्थ्यो ?’ भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

सामाजिक सञ्जालमा फैलाइएका भ्रमको पछि नलाग्न नागरिकलाई आग्रह गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी पुर्‍यायो भन्नेबारे सत्य खोज्नुपर्ने बताएका छन्। उनले यस विषयमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन आफू सधैं तयार रहेको पनि स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका