काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्य पुनःस्थापना गर्न र वातावरण स्वच्छ राख्ने उद्देश्यले आफ्नो क्षेत्रभित्रका खोलानाला सरसफाइ अभियानलाई तीव्र बनाएको छ ।
सहरलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरले पछिल्लो समय जलसम्पदाको संरक्षण र सफाइमा विशेष ध्यान दिन थालेको हो । यसअघि अनामनगर क्षेत्रमा पर्ने धोबीखोला र टुकुचा खोलाको सरसफाइ सम्पन्न गरिसकेको महानगरले हाल वडा नम्बर १६ स्थित विष्णुमती खोलामा अभियान केन्द्रित गरेको छ ।
महानगरका कर्मचारीहरूले खोला किनारमा पलाएका अनावश्यक झाडी फाँड्ने तथा पानीमा थुप्रिएका फोहोर हटाउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेका छन् ।
खोलानाला अत्यधिक दुर्गन्धित हुँदा सहरको सौन्दर्यमा ह्रास आउनुका साथै पानीजन्य रोगको जोखिम बढेकाले यो अभियान सुरु गरिएको महानगरले जनाएको छ । खोलाको प्राकृतिक स्वरूप फर्काउने र ढल व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्यसहित अभियान प्रभावकारी हुने विश्वास पनि महानगरले व्यक्त गरेको छ ।
सरसफाइसँगै महानगरले नगरवासीहरूलाई खोलानालामा फोहोर नफाल्न कडा आग्रह गरेको छ । खोलामा फोहोर फाल्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै सहर सफा राख्ने जिम्मेवारी सबैको साझा दायित्व भएको महानगरले स्मरण गराएको छ ।


