Saturday, November 7, 2026
Homeसामाचारप्रतिनिधिसभा निर्वाचनः ३४८६ उम्मेदवारमध्ये पाँचविरुद्ध मात्र उजुरी

प्रतिनिधिसभा निर्वाचनः ३४८६ उम्मेदवारमध्ये पाँचविरुद्ध मात्र उजुरी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गराएका तीन हजार ४८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको भन्दै उजुरी दर्ता गर्ने समय तोकिएको थियो। सो अवधिमा देशभरका निर्वाचन अधिकृतको कार्यालयमार्फत जम्मा पाँच उजुरी दर्ता भएका हुन्।

सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ अनुसार उजुरी दर्ता गरिएको आयोगले जनाएको छ। दर्ता भएका उजुरीहरू निर्देशिकाको अनुसूची १७ बमोजिम अभिलेखमा समावेश गरी अनुसूची १८ अनुसारको भरपाइ उजुरीकर्तालाई प्रदान गरिएको छ।

निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ता गर्ने म्याद सकिएपछि म्यादभित्र प्राप्त उजुरीको विवरण अनुसूची १९ अनुसार तयार गरी सम्बन्धित कार्यालयमा प्रकाशन गरिएको छ। जसको विरुद्ध उजुरी परेको छ, उनीहरूले तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ।

आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ। माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने छ। माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ। दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार हालसम्म दर्ता भएका उम्मेदवारमध्ये ३,०८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका