Saturday, November 7, 2026
Homeसामाचाररामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे सर्वदलीय छलफल

रामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे सर्वदलीय छलफल

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, उज्यालो नेपाललगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। कार्यक्रममा निर्वाचन आचारसंहिता सबै पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिइयो।

नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले सबै दलको सहमतिमा निर्वाचन आयोगले तयार पारेको आचारसंहिता पालना गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले एमालेले आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्ने स्पष्ट पारे। साथै उनले आगामी निर्वाचनका लागि सरकारले अझै पर्याप्त सुरक्षा सुनिश्चित गर्न नसकेको गुनासो व्यक्त गरे।

नेपाली कम्युनिस्ट पार्टीका नेता हेमन्त पौडेल (निकास) ले प्रत्येक निर्वाचनमा ठूला दलमाथि आचारसंहिता उल्लङ्घनको आरोप लाग्दै आएको उल्लेख गर्दै यसपटक सबै दल अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए।

उज्यालो नेपाल पार्टीका जयराम घिसिङले विगतमा आचारसंहिताको प्रभावकारी पालना नभएको भन्दै सबै पक्ष इमानदार रूपमा लागे मात्र यसको कार्यान्वयन सम्भव हुने बताए।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आचारसंहिता पढ्ने वा लेख्ने मात्र नभई व्यवहारमा कार्यान्वयन गर्नु मुख्य चुनौती भएको बताए। आचारसंहिता उल्लङ्घन गरे एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्दसम्मको कानुनी व्यवस्था रहेकाले कडाइका साथ अनुगमन गरिने उनको भनाइ थियो।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले निर्वाचन आयोगको कार्यतालिका अनुसार निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागू आचारसंहिताबारे जानकारी गराएका थिए। अन्तरक्रियामा सहभागीहरूले विगतका निर्वाचनमा ठूला दलबाट बढी मात्रामा आचारसंहिता उल्लङ्घन भएको भन्दै यसपटक पनि त्यस्तै हुन सक्ने आशंका व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका