मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा उल्लेख्य हिमपात हुन सकेको छैन । गत कात्तिक महिनामा माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ तथा मुस्ताङ–डोल्पा सडकखण्ड आसपासका क्षेत्रमा आंशिक हिमपात भए पनि त्यसले किसानलाई खासै लाभ दिन सकेन ।
हिउँदयाममा पर्ने हिमपात किसानका लागि वरदान मानिन्छ । अनुकूल समयमा हिउँ परे अन्नबाली सप्रिनुका साथै उत्पादन वृद्धि हुने भए पनि यस वर्ष पुस महिना बितिसक्दा पनि हिमपात हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाले जनाएको छ । सामान्यतया हिमाली क्षेत्रमा पुस–माघमा हिमपात हुने मान्यता रहे पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा त्यो क्रम टुट्दै गएको कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।
उनका अनुसार मुस्ताङका अधिकांश खेतीयोग्य जमिन र स्याउ बगैँचामा सिँचाइको व्यवस्था भए पनि माटोको उर्वराशक्ति वृद्धिका लागि हिउँदयामको हिमपात अत्यावश्यक हुन्छ । हिउँले जमिनको भित्री तहसम्म चिस्यान भरी पुनः रिचार्ज गर्ने र स्याउ, उवा, जौ, फापर, मकैलगायतका बालीको गुणस्तर तथा उत्पादनमा सहयोग पुग्ने उनले बताए ।
हिउँ नपर्दा रोगकीराको प्रकोप बढ्ने, जमिनको तापक्रम वृद्धि हुने र आवश्यक पोषक तत्त्वको सन्तुलन बिग्रने समस्या देखिन थालेको किसानहरूको गुनासो छ । घरपझोङका किसान अजित थकालीका अनुसार पछिल्ला वर्षहरूमा नदी–खोलाको पानीबाट मात्र सिँचाइ गर्दा अन्नबालीमा रोगको समस्या बढेको छ ।
यसअघि तल्लोदेखि माथिल्लो मुस्ताङसम्म बाक्लो हिमपात हुने, डाँडाकाँडा, खर्क, पाटन र बस्तीहरू हिउँले ढाकिने गरेको स्थानीयवासी स्मरण गर्छन् । अनुकूल समयमा परेको हिमपातका कारण स्याउलगायतका बालीबाट राम्रो आम्दानी हुने गरेको भए पनि पछिल्लो समय बेमौसमी वर्षा बढ्दै गएको छ ।
थासाङ गाउँपालिका–१ टुकुचेका ८४ वर्षीय ङाचा थकालीले पुस र माघ महिनामासमेत हिमपात नहुन थालेको बताए । उनका अनुसार यसले कृषि मात्र नभई जनजीवनमै परिवर्तन ल्याएको छ ।
जलवायु परिवर्तनको प्रभावले परम्परागत संस्कृति र वास्तुकलामा समेत असर परेको स्थानीयको भनाइ छ । हिउँको सट्टा वर्षा हुन थालेपछि ढुङ्गा र माटोले बनेका परम्परागत घरहरू चुहिने र भत्किने जोखिम बढेको घरपझोङ–५ ठिनीका स्थानीय नीरज थकालीले बताए ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार हिउँ नपर्दा बाहिरी सतह मात्र चिसो हुने र जमिनको तापक्रम बढ्ने समस्या देखिएको छ । यसले दीर्घकालीन रूपमा हिमाली पर्यावरण, कृषि र पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने उनको चेतावनी छ ।


