Saturday, November 7, 2026
Homeसामाचारआज माघे संक्रान्ति: घिउ–चाकु खाएर हर्षोल्लासका साथ मनाइँदै

आज माघे संक्रान्ति: घिउ–चाकु खाएर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं। आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आजको दिन घिउ, चाकु, तरुललगायत परिकार खाएर परिवारसँग रमाइलो गर्दै पर्व मनाउने चलन छ। आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ।

माघे संक्रान्ति वा मकर संक्रान्ति नेपालका विभिन्न जातजातिले आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्छन्। विशेषगरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा छ। यस अवसरमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार बनाएर खाने तथा आफन्तसँग भेला हुने चलन रहिआएको छ।

चिसो मौसममा शरीरलाई न्यानो प्रदान गर्ने यी परिकारहरू स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छन्। आयुर्वेद चिकित्सकहरूका अनुसार यस्ता खानाले त्रिदोष नाश गर्न मद्दत गर्छन्। धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते घिउ, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ।

आजका दिन तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने र नाडी, स्नायुमण्डल तथा हड्डी सुदृढ हुने धार्मिक तथा आयुर्वेदिक विश्वास छ। त्यसैले धेरैले आज विशेष रूपमा तिलको तेलले मालिस गर्ने गर्छन्।

तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् स्नान गर्ने पर्वका रूपमा मनाइन्छ। वर्षभर स्नान गर्न सहज वातावरण नपाउनेहरूले पनि आज अनिवार्य रूपमा स्नान गर्ने विश्वास राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरह पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

माघ १ गतेदेखि सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले दिन क्रमशः लामो र रात छोटो हुँदै जान्छ। उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, साधना र दानलाई विशेष पुण्यदायी मानिन्छ। यस कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ। यी स्थानहरूमा आज विशेष मेला पनि लाग्ने गर्छ।

धार्मिक विश्वासअनुसार सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्युशय्यामा पुगेका भीष्म पितामहले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायण भएपछि नै शरीर त्यागेको कथन पनि यसै सन्दर्भमा उल्लेख गरिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका