मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ बृहत् एकता महाधिवेशन फेब्रुअरीको अन्तिम साता अनिवार्य रूपमा आयोजना गर्नुपर्ने स्पष्ट पारेका छन्। उनले विधानअनुसार तोकिएको समयमै निर्वाचन नभए वर्तमान स्टेरिङ कमिटी स्वतः भंग हुने चेतावनीसमेत दिएका छन्।
सोमबार एनआरएनए मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. शर्माले संघको निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५ गते काठमाडौँमा सम्पन्न हुने सुनिश्चित भइसकेको जानकारी दिए। उनले अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठबीच भएको लिखित सहमतिअनुसार अनलाइन प्रणालीमार्फत निर्वाचन हुने स्मरण गराउँदै, निर्वाचन रोक्ने वा अवरोध गर्ने प्रयास भए सहमति अनुसार स्टेरिङ कमिटी स्वतः भंग हुने चेतावनी दिए।
उहाँले निर्वाचन प्रणाली, संस्थागत संरचना, ब्रान्डिङ र एजेन्डामा आवश्यक सुधारको पक्षमा रहेर प्रतिनिधिमूलक प्रणाली हटाएर विश्वभरका सदस्यले प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखे। साथै, चुनाव खर्चिलो हुँदै गएको प्रचलन रोक्न, ‘थ्री पी’—पैसा, पावर र पोलिटिक्स—को दुरुपयोग अन्त्य गर्न र संस्थाभित्र पारस्परिक सम्मान, समान अवसर र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए।
कार्यक्रममा एनआरएनएका अन्य वरिष्ठ नेता तथा क्षेत्रीय प्रतिनिधिहरू उपस्थित थिए। डा. शर्माले आगामी महाधिवेशनलाई साँच्चिकै “बृहत् एकताको महाधिवेशन” बनाउने उद्देश्यले सहमतिको कार्यसमिति चयन गर्न सकिने प्रस्तावसमेत अघि सारे।


