काठमाडौं:काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह कार्यक्रम आयोजना गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कार्यक्रमको उद्घाटन शनिबार बिहान हुनेछ भने माघ ३ गते समापन हुनेछ ।
ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार कार्यक्रम सुरु हुनुअघि शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिनेछ। ट्राफिक सप्ताहमार्फत विशेषगरी युवापुस्तालाई लक्षित गरी सडक सुरक्षा सम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको उनले बताए। उनका अनुसार तथ्यांकले पनि दुर्घटनामा पर्ने र ज्यान गुमाउनेमध्ये अधिकांश युवा उमेर समूहकै रहेको देखाउँछ।
उद्घाटनको दिन बिहान झाँकी, प्रहरी ब्यान्डसहित सचेतना र्याली निकालिनेछ। साथै, दूरसञ्चार सेवामार्फत सात दिनसम्म सडक सुरक्षा सम्बन्धी सन्देश प्रवाह गरिनेछ । काठमाडौं उपत्यकाभित्र रहेका डिजिटल बोर्डहरूमा प्रत्येक घण्टा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिने तयारी छ ।
कलाकार तथा गायकहरूलाई उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक सचेतना सम्बन्धी पर्चा र पम्पलेट वितरणका लागि आमन्त्रण गर्ने योजना रहेको छ। रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारी साधनमा पनि दुर्घटना न्यूनीकरण सम्बन्धी एक मिनेटको वृत्तचित्र प्रदर्शन गरिनेछ ।
यसैगरी, राइड सेयरिङ सेवाका चालकहरूलाई लक्षित गरी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको समापन दिन ठमेल क्षेत्रमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी पनि गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापनमा प्रहरीसँगै नागरिकको सचेतना अत्यावश्यक रहेको बताए । पछिल्ला घटनाबाट सिक्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको भन्दै उनले सप्ताहव्यापी कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे ।


