झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा करिब सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) परिचालन गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार यसपटक जिल्लामा चार हजार ७४८ जना निर्वाचन प्रहरी खटाइनेछन् । उनीहरूको भर्ना प्रक्रिया सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त व्यवस्थापनमा सुरु भइसकेको छ ।
जिल्लामा २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ९५ मतदानस्थल र २७१ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यस्तै, १४७ मतदानस्थल संवेदनशील र ४३ सामान्य रहेको वर्गीकरण गरिएको छ ।
मतदान केन्द्रतर्फ ३९० संवेदनशील र १०५ सामान्य रहेका छन् । यसपटक झापामा ४९ वटा मतदान केन्द्र थप गरिएको प्रशासनले जनाएको छ ।
निर्वाचनमा परिचालन हुने कुल चार हजार ९४७ जना निर्वाचन प्रहरीको छनोटका लागि आजदेखि भर्ना प्रक्रिया सुरु भएको छ । भर्ना हुन चाहनेले आजदेखि माघ ५ गतेसम्म दरखास्त दिन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


