काठमाडौं । साँखुमा भएको बस दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
बुधबार साँझ पौने ६ बजे काठमाडौंको शंखरापुर नगरपालिका–३ अन्तर्गत साँखु–जहरसिंह पौवा सडक खण्डमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो।
दुर्घटनामा घाइते भई एनएमसी अस्पतालमा उपचाररत काठमाडौं जोरपाटी घर भएका अन्दाजी ५५–६० वर्षीय अर्जुन लामिछानेको गएराति ११:१० बजे मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
यसअघि बुधबार बेलुका नै उपचारका क्रममा चार जनाको मृत्यु भएको थियो। मृतकहरूमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते अन्य यात्रुहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पाँच जनाको शंखरापुर अस्पताल नारायणटारमा, एक जनाको केएमसीमा, तीन जनाको त्रिवि शिक्षण अस्पतालमा, चार जनाको मुलपानी नगर अस्पतालमा, तीन जनाको सुष्मा कोइराला अस्पतालमा, चार जनाको पिपल्स अस्पताल साँखुमा, दुई जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिकेयर अस्पताल चाबहिलमा, दुई जनाको दीर्घायु अस्पतालमा र एक जनाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


