कैलाली। नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको संख्या बढेको छ। चरा संरक्षण नेटवर्क कैलालीले यही पुस १९ देखि २१ गतेसम्म घोडाघोडी क्षेत्रमा जलपन्छी गणना गरेको हो।
गणनाका क्रममा यस वर्ष हरिहाँसको संख्या बढेको चरा संरक्षण नेटवर्क कैलालीका सचिव रामकुमार चौधरीले जानकारी दिए। उनका अनुसार घोडाघोडी क्षेत्रमा हिउँद र वर्षायाम गरी प्रत्येक वर्ष दुई पटक जलपन्छी गणना गरिँदै आएको छ।
चौधरीका अनुसार सन् २०२२ मा ३९४ रहेको हरिहाँसको संख्या सन् २०२३ मा घटेर ३१६ पुगेको थियो। सन् २०२४ मा यो संख्या ४११, सन् २०२५ मा ३७२ पुगेको थियो भने यस वर्ष बढेर ४२९ पुगेको छ। यद्यपि, कुल जलपन्छीको संख्या भने यस वर्ष घटेको उनले बताए।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीका अनुसार सन् २०२२ मा एक हजार ६८५ जलपन्छी गणना गरिएको थियो। सन् २०२३ मा एक हजार २२१, सन् २०२४ मा एक हजार ४३७, सन् २०२५ मा एक हजार ३१६ जलपन्छी गणना भएकामा यस वर्ष घटेर एक हजार १६८ मा सीमित भएको छ।
कैलाली नेपालमै सबैभन्दा बढी तालतलैया भएको जिल्लाका रूपमा परिचित छ। तीमध्ये घोडाघोडी ताल तराई क्षेत्रकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो। घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन्।
घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि अत्यन्त उपयुक्त मानिने अध्यक्ष चौधरीले बताए। उनका अनुसार घोडाघोडीसहित आसपासका क्षेत्रमा जलपन्छी गणना गरिएको हो।
उनका अनुसार पहिले घोडाघोडी क्षेत्रमा करिब दुई हजार २०० जलपन्छी पाइने गरेकामा अहिले त्यो संख्या घटेर करिब एक हजार १०० मा सीमित भएको छ। चराको बासस्थान असुरक्षित बन्दै जानु, आहारामा कमी आउनु, मौसम प्रतिकूल हुनु लगायत कारणले जलपन्छीको संख्या घट्दै गएको उनले बताए।
घोडाघोडी क्षेत्र रैथाने तथा आगन्तुक चराको महत्त्वपूर्ण बासस्थान भएकाले सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ गते यस क्षेत्रलाई नेपालकै पहिलो ‘चरा अभय आरण्य’ का रूपमा घोषणा गरेको थियो। घोडाघोडी क्षेत्रमा हाल ३८१ प्रजातिका चरा पाइन्छन्।


