Saturday, November 7, 2026
Homeसामाचारव्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत : ओली

व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा रहे पनि निराश हुन नहुने बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएको उल्लेख गरे। उनले भने, “हामी सहज अवस्थामा छैनौँ, अप्ठ्यारो अवस्थामा छौँ। तर लामो इतिहास भएको देशका नागरिक हामी अप्ठ्यारो पर्दा पनि निराश हुँदैनौँ। हाम्रो इतिहास अनेक जाडो–गर्मी, उकाली–ओराली पार गर्दै आएको इतिहास हो।”

नेपाल भौगोलिक, जैविक तथा सामाजिक रूपमा विविधतायुक्त देश भएको उल्लेख गर्दै उनले भौगोलिक उकाली–ओरालीसँगै सामाजिक र विकासका चुनौतीहरू पनि नेपाली समाजले सामना गर्दै आएको बताए। पछिल्लो समय देश पछाडि गएको भन्ने भाष्य गलत रहेको उनको दाबी छ।

“पहिले आधुनिक विज्ञान र प्रविधिबाट प्राप्त हुने सुविधा थिएनन्, सवारी साधन पनि थिएनन्। अहिले समय परिवर्तन भएको छ। अग्रजहरूले केही गरेनन् भन्ने होइन, हामीले पनि केही गरेका छैनौँ भन्ने होइन,” उनले भने, “व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने धारणा गलत हो।”

अध्यक्ष ओलीले देशमा औद्योगिकीकरण विस्तार हुँदै गएको र नयाँ नीति, विधि, तरिका तथा स्रोतहरू अपनाइएको पनि बताए। उनका अनुसार मानिसलाई सुविधा र सहुलियत मात्रै पर्याप्त हुँदैन, उसले अझ सहज र गुणस्तरीय जीवन खोज्छ।

“देश यस्तै अवस्थामा रहिरहँदैन,” उनले भने, “किनभने हामीले थुप्रै नयाँ कामहरू अघि बढाएका छौँ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका