काठमाडौं । सरकारले जेन–जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन–जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनका अनुसार सहिद परिवारको हित र कल्याणलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनका लागि अनुदान प्रदान गर्न लागिएको हो।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ। साथै, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्यका लागि गठन गरिएको व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ।
त्यसैगरी, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र, नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको छ। पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रवक्ता खरेलले बताए।
बैठकले वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्नुका साथै नेपाल लेखा परीक्षण सेवा समूहअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ।


